दिल्लीमा सार्वजनिक यातायात सुचारु, पसल खुले

एजेन्सी- दिल्ली सरकारले लकडाउनमा छुट दिंदै सबै बजार खुला गर्न स्वीकृति दिएको छ ।  यद्यपि, दिल्लीका पसलहरु ‘जोर–बिजोर’ तरिकाले खुल्ने छन्। अर्थात आधा पसल एक दिन खुल्ने छन् भने बाँकी अर्को दिन खुल्नेछन्। अत्यावश्यक वस्तुका पसल भने सधैँ खुला रहनेछन् । त्यस्तै सपिङ मल भने खोल्न छुट दिइएको छैन। रेष्टुरेन्ट खुले पनि त्यहाँ बसेर ग्राहकले खान पाउने छैनन्, खाना पोको पारेर घर लैजान पाइनेछ ।  मुख्यमन्त्री केजरीवालले सार्वजनिक यातायात पनि खोल्ने घोषणा गरेका छन् । दिल्लीमा अटोरिक्सा, ईरिक्सा र बस चल्न अनुमति दिइएको छ। तर अटोरिक्सामा एक जना र बसमा २० जना यात्रुमात्र चढाउन पाइनेछ। त्यस्तै ट्याक्सीमा अधिकतम दुई जनाले मात्रा यात्रा गर्न पाउनेछन् ।  

निजी गाडी चलाउन पाइनेछ भने बाइकमा पछाडि यात्रु राख्न पाइने छैन।  स्पोर्ट्स कम्प्लेक्स र स्टेडियम खुले पनि दर्शक भने जान पाउने छैनन । यि सबै सुविधा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि लागू हुनेछन् । दिल्लीका सबै सरकारी र निजी कार्यालय खोल्न अनुमति दिइएको छ। तर, निजी कार्यालयका कर्मचारीलाई सकेसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउन भनिएको छ । यद्यपि, ३१ मे सम्म लकडाउनको यो व्यवस्था लागू हुने र यसबीच मेट्रो, कोचिङ–ट्रेनिङ इन्स्टिच्यूट, होटेल, सिनेमा हल, मल, जिम, स्विमिङ पुल, सलून, बार, थियेटर, अडिटोरियम, विद्यालय र अन्य शैक्षिक संस्था भने बन्द रहने छन्। दिल्ली सरकारका अनुसार दिल्लीमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ५४ पुगेको छ भने १६० जनाको मृत्यु भएको छ। 

 

प्रतिकृया दिनुहोस