प्रदेश ५ मा कोरोना संक्रमितको अबस्था : २१ देखि ३० वर्ष उमेरका वढि प्रभावित, उच्च जोखिममा बाँके जिल्ला


स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा छ सय ३ जनामा कोरोना भाइरस रोग कोभिड १९ को संक्रमण पुष्टि हुँदा कुन भेगमा संक्रमण कस्तो छ त  कुन उमेर समूह सबैभन्दा प्रभावित छन्  यतिखेर सबैको चासोको विषय बनेको छ । नेपालमा कूल ४५ हजार नौ सय ५९ जनाको थ्रोट स्वाब आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६०३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । माघ ९ गते पहिलोपटक नेपालमा कोभिड १९ पुष्टि भएको थियो । चैत महिना ११ गते लकडाउन सुरु गरेसँगै संक्रमितको संख्या क्रमशः   बढ्दै गएको छ । संक्रमण पछिल्लो समय दैनिक दोहोरो अंकमा बढिरहेको छ ।

उमेर समूहका आधारमा संक्रमण

संक्रमित सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन् । कूल संक्रमितमध्ये यस उमेर समूहका ३६.७ प्रतिशत अर्थात् २२१ जना छन् । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका २४.४ र ११ देखि २० वर्ष उमेर समूहका १९.२ प्रतिशत छन् । त्यस्तै ४१ देखि ५० वर्षका ९.५ प्रतिशत छन्। संक्रमित मध्ये ४ प्रतिशत ५१.६०, २.८ प्रतिशत १० वर्षसम्मका बालबालिका छन् । ६१ देखि ७० वर्षका २.३ प्रतिशत संक्रमित छन् ।

लिंगका आधारमा संक्रमित

लिंगका आधारमा पुरुष बढी संक्रमित छन् । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष छन् । त्यस्तै १३ प्रतिशत महिला रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । महिला ७९ जना मात्र संक्रमित हुँदा पुरुष संक्रमितको संख्या ५२४ छ । सबैभन्दा बढी प्रदेश ५ मा छन् । संक्रमित संख्या करिब तीन सय छ। प्रदेश ५ मा २८१ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेश पाँचका सातवटा जिल्लामा संक्रमण पुगेको छ। भारतसँग सीमा जोडिएका प्रदेश ५ का सबै जिल्लामा संक्रमण बढी छ ।

प्रदेश ५ मा दुई जनाको मृत्यु भइसकेको छ। यहाँ हाल २४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएर डिस्चार्ज हुने पनि यही प्रदेशका बढी छन् । यहाँबाट ३२ जना डिस्चार्ज भएका छन् । यहाँ १९ हजार ५२५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लागत अबस्था 

सबैभन्दा बढी संक्रमण बाँकेमा छ । बाँकेमा १४२ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँको नरैनापुर गाउँपालिकाका मात्र ११३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। यहाँका २१ जना उपचारपछि घर फर्किसेका छन् । प्रदेश ५ को कपिलवस्तुमा ८० जनामा संक्रमण पुष्टि भएको छ ।  

रुपन्देहीमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीको धागो कारखानामा रहेका ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमण सातै प्रदेशमा पुग्दा संक्रमण पुष्टि भएका जिल्लाको संख्या ४२ पुगेको छ । प्रदेश ५ पछि प्रदेश २ मा बढी संक्रमण देखिएको छ । यहाँ संक्रमण पुष्टि भएकाको संख्या १७९ छ। यहाँका १३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस