कोरोना भाइरसको हटस्पट- बाँकेको नरैनापुरः एकको मृत्यू, ११४ संक्रमित, स्थिती भयावह बन्दै

गाउँपालिकामा भयाबह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न बाँकेको नरैनापुर गाउँपालिकाले सरकारलाई आग्रह गरेको छ । गाउँपालिकाले क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड -१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।

स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था देखिएकाले उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने गाउँपालिकाको ठहर छ ।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड-१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ । भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाले कोभिडकै कारण ज्यान गुमाएको अवस्था छ । एउटै गाँउ पालिकामा यति ठूलो संख्यामा संक्रमितहरु बढेपछि गाँउपालिकालाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । 

प्रतिकृया दिनुहोस