प्रदेश ५ का दुई यूवा वैज्ञानिक, जसले वनाए - कोरोना भाइरसको उपचारमा सहयोगी बन्नसक्ने 'रोबोट नर्स'

बुटवलका २ जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थीले  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार सहयोगी बन्नसक्ने ‘रोबोट नर्स’ बनाउन सफल भएका छन् । बन्दाबन्दीको समयमा दिनरात नभनी उनीहरुले रोवोटका लागि काम गरे र अन्ततः सपनामा देखेको सोच पूरा गरे । लगभग महिना दिनको अथक प्रयासबाट दाजुभाइले कोरोना संक्रमितलाई सामान पुर्‍याउने ‘रोबोट नर्स’ बनाएका हुन् । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउने उद्देश्यका साथ रोबोट निर्माण गरेको लवकुश बताउँछन् ।

नर्सको निर्देशनमा कोरोना संक्रमितलाई औषधि, खाना र अन्य सामग्री पुर्‍याउने काम रोबोटले गर्नसक्छ । जसले गर्दा स्वयं नर्स नै बिरामीसम्म जानु नपर्ने भएकाले चिकित्सकमा कोरोना संक्रमणको जोखिम कम हुन्छ ।  बिरामीको सेवा र स्याहार गर्ने रोबोट नर्सलाई नर्सका जस्तै पहिरन लगाइदिएर सजाइएको छ । अगाडि खाना, औषधि लगायत सामान राख्ने ठाउँ छ । रोबोटमा मेडिकल क्षेत्रका ‘फिचर्स’ प्रयोग गरिएको छ । कोरोनाका कारण स्वास्थ्यकर्मी समेत जोखिममा छन्, अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । रोबोट नर्सले स्वास्थ्यकर्मीको जोखिम कम गर्ने आकलन गरिएको छ । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा रोबोट नर्सको ‘डेमो’ समेत गरिएको छ ।

रोबोट नर्सलाई केही परिस्कृत गरेर धेरै संख्यामा निर्माण गरी बुटवलको कोरोना विशेष अस्पतालमा प्रयोगमा ल्याउनेबारे तयारी भइरहेको छ । त्यसका लागि दुवै दाजुभाइलाई सामाजिक विकास मन्त्रालयले बोलाएर छलफल समेत गरेको छ । दुवै दाजुभाइले बनाएको स्यानिटाइजर टनेल १ महिनाअघि मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रवेशद्वारमा जडान गरिएको थियो । रोबर्ट नर्सलाई पन्थी दाजुभाइले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । पन्थी दाजुभाइ रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा कलेजमा विज्ञान संकायमा ११ कक्षामा अध्ययनरत छन् । ‘रोबोट नर्सलाई १ किलोमिटरसम्म एपमार्फत नियन्त्रण गर्न सकिन्छ । जसमा राउटर प्रयोग गरिएको छ ।  रोबोटले अस्पतालको आइसोलेसनमा रहेका बिरामीलाई आवश्यक खाना, औषधि, स्यानिटाइजर लगायतका वस्तु लैजान सक्छ ।
४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, १२ एमपीको क्यामरा, अल्ट्रासाउन्ड स्पिकर जडान भएको छ । रोर्बटमा जडित माइक्रोफोनले मानिसको आवाज सुन्न सक्ने र आवाजलाई सफ्टवेयरको माध्यमबाट बुझेर जवाफ समेत फर्काउनसक्ने उनले बताए । रोबोट निर्माणमा ७० हजार रुपैयाँ खर्च भएको बताइएको छ । कोरोना बिरामीको उपचार गर्नमा सहयोग गर्ने भएकाले रोबोटमा फलाम, फर्निचर जस्ता वस्तुको कम प्रयोग गरिएको र कपर, हार्ड प्लास्टिक, कार्डबोर्डलाई बढी प्रयोग गरिएको छ । ‘गो कोरोना रोबोट’मा ‘हाईस्पीड प्रोसेसर’ जडान गरिएको छ, यसले रोबोटलाई परिचालन र नियन्त्रणको काम गर्ने जनाइएको छ ।रोबोटलाई ‘रिमोर्ट कन्ट्रोल’बाट प्रयोग गर्न सकिने भएपनि एउटै रिमोर्ट धेरैले प्रयोग गर्दा कोरोना संक्रमण हुने सक्ने भएकाले ‘गो कोरोना रोबोट’का लागि ‘एन्ड्रोयड एप’ बनाएको र त्यसैको माध्यमबाट रोबोटलाई चलाउन सकिने गरिएको छ । यसलाई आवश्यताका आधारमा परिमार्जित समेत गर्न सकिने छ ।  

रोबोटसँगै जुम्ल्याहा दाजुभाइले ‘गो कोरोना कन्ट्रोल एन्ड्रोयड एप’ तयार गरेका छन् । एपलाई शुरूमा इन्टरनेट प्रोटोकल आईपीको माध्यमबाट रोबोटमा जोड्ने गरिन्छ । त्यसपछि मोबाइल एपबाट पठाएको डाटाबाट यसलाई नियन्त्रण गर्न सकिन्छ, यो प्रक्रियामा भने इन्टरनेटको प्रयोग हुँदैन । एपमा राखिएको स्क्रीनमा रोबोटले के काम गरिरहेको छ भनेर कन्ट्रोल रुमबाट देख्न सकिन्छ । रोबोटलाई दायाँ–बायाँ, अगाडि–पछाडि, रोक्ने र चलाउने सबै काम एपको माध्यमबाट गरिन्छ । कोरोना अस्पतालमा प्रयोग हुने भएपछि रोबोटमा कोरोना अंकित संकेत समेत छन् । सफ्टवेयर र एपबाहेक ७० हजार रुपैयाँ रोबोट निर्माण गर्दा खर्च लागेको पन्थी दाजुभाइले बताए । आउँदा दिनमा पनि सरकारबाट सहयोग भए अन्य विभिन्न उपकरण बनाउने दाजुभाइको भनाइ छ । 

प्रतिकृया दिनुहोस