दाङमा हाईड्रोलिक मेसीनबाट दुना टपरी बनाउने उद्योग सञ्चालन

तुलसीपुरमा दुना टपरी उद्योगले दाङमै पहिलो पटक सेमिहाईड्रोलिक मेसिनबाट दुना र टपरी बनाउन शुरु गरिएको छ । १० लाख १० हजारको लागतमा तुलसीपुर ६ बरुवागाउँबाट उक्त उद्योग सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष भिम बहादुर खत्रीले जानकारी दिनुभयो । बनमा खेर गईरहेका पातलाई सदुपयोग गरेर टपरी बनाउन थालिएको खत्रिले बताउनुभयो ।अहिले १३ जना सेयर सदस्य रहेको उक्त संस्थाले २०,२० हजार रुपैयाँ शेयर उठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाको ५ लाख सहुलियत ऋण र दुई लाख ५० हजार अनुदान गरि जम्मा १० लाख १० हजारमा उक्त उद्योग सञ्चालन गरिएको हो । उद्योगले बजारमा अहिले प्रयोग हुँदै आएका प्लाष्टिकका भाडाहरुलाई बिस्तापित गरि वातावरण सन्तुलन ल्याउन भूमिका निर्वाह गर्ने सचिब नारायण भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भिमबहादुर खत्रीको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्योगको उद्घाटन गर्दै दाङमा उद्योगको विकास गरि स्वरोजगार उत्पादन हुन आबश्यक रहेको बताउनुभयो । पाण्डेले उद्योगहरुले नै मुलुकलाई समृद्ध बनाउनेमा जोड दिनुभयो । सदस्य खेमलाल महताराले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब नारायण भण्डारीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस