काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा पर्यटकलाई समस्या

काठमाडौँ– राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ ।  व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ । 

विगत तीन दशकदेखि कान्तिपथ सडकबाट चल्दै आएको पर्यटकीय बस असार १५ गतेदेखि सोह्रखुट्टे सडकबाट चल्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाले खानेपानीको लाइन बिच्छ्याउन सडक खनेर नपुर्दा पानी परेको बेला हिलोका कारण पर्यटकलाई बसमा चढ्न तथा ओर्लन समस्या परेको छ । 

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रल्हाद लोहनी मुलुकमा पर्यटनको विकास गर्नका लागि पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनुपर्ने बताउँछन् । ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर राजधानीमै पर्यटकका लागि भने छुट्टै बसपार्क नहुँदा समस्या परेको छ,’ उनी भन्छन् । 

मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । अध्यक्ष लोहनीले काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि कुरा गरेपनि सरकार र महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरे । 

सोह्रखुट्टेबाट बिहान पोखरा र चितवनका लागि पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजेपनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्रवरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो । 

पर्यटनको विकासका लागि एशोसियशनले काठमाडौंदेखि लुम्बिनी, जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको छ । राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् । 
 
 

प्रतिकृया दिनुहोस