पुस १६ गते भ्रमण बर्षको शुभारम्भ गरिर्दै

भ्रमण वर्ष सन् २०२० को शुभारम्भ पुस १६ गते अर्थात (जनवरी १ तारिख) का दिन शुरु हुने छ । नेपाल सरकारले शुरु गर्न लागेको एक बर्षे भ्रमण बर्षको उद्घाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले दशरथ रङगशाला काठमाण्डौमा गर्नुहुने छ । त्यस्तै ७ वटै प्रदेश,७७ जिल्ला र सबै पालिकामा भ्रमण बर्षलाई एक बर्ष सम्म अभियानको रुपा सञ्चालन गरीने छ । प्रदेश नम्वर ५ ले नेपाल भ्रमण बर्ष २०२० को बर्दिया जिल्लाको ठाकुरद्वाराबाट उद्घाटन गर्ने भएको छ । 
पुस १६ गते (जनवरी १ तारिख) का दिन बर्दियाको ठाकुरद्वाराबाट ‘घुम्न जाऔं बर्दिया’ भन्ने नाराका साथ उद्घाटन गर्ने गरि तयारी पुरा भएको प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले जनाएको छ । प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 
प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले विशेष समारोहका साथ भ्रमण वर्ष उद्घाटन गर्ने तयारीमा आफूहरू जुटेको बताउनुभयो । केन्द्र सरकारको अभियानलाइ प्रदेश सरकारले कांध थापेर सहयोग गर्नुपर्ने प्रदेश सरकारको दायित्व रहने भन्दै प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष गिरीले तयारी पुरा भएको जानकारी दिनुभयो । उद्घाटनका दिन जनवरी १ तारिखमा बिहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो ।
सो कार्यक्रममा प्रदेशका सबै मन्त्री, प्रदेशसभाका समितिका सभापतिहरु, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५/५ जना सदस्य, १ स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिती रहने छ ।
उद्घाटन कार्यक्रमलाई सफल बनाउन होटल व्यवसायी संघ ५ नम्बर प्रदेशले दुई हजार २० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको छ । 
यसैबिच, दाङमा भ्रमण बर्षको तयारी १० वटै पालिकामा गरीएको छ । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको संयोजकत्वमा जिल्ला पर्यटन प्रर्बद्धन समिति गठन गरीएको छ । पर्यटन प्रर्बद्धन समितिको आयोजनमा भोली पुस १६ गते बाह्कुने दह बराह क्षेत्रमा भ्रमण बर्ष उद्घाटन गरीने संयोजक नेपालीले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरुवात गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य रुपमा उद्घाटन हुने भएको छ । तुलसीपुरको गणेशपुर पार्कमा २०२० को सुरुवातसँगै अभियानको थालनी गरिने भएको हो । उद्घाटन कार्यक्रमलाई भव्य वनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपवहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरको मुख्य वजारबाट विभिन्न साँस्कृतिक झाँकी सहति र्यालीको सुरुवात भइ गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरिनेछ । 
अभियानको प्रदेश नम्वर ५ का सभामुख पूर्णवहादुर घर्तिले १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैविच भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले वडा नम्वर ८ को वटोलपुर, वडा नम्वर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्वर ३ को राम्रीधामा,वडा नम्वर १९ को छिल्लीकोट लगायतका स्थानमा होमस्टे सञ्चालन गरेको छ । गणेशपुर पार्क, चमेरे गुफा लगायतका ठाउँमा पनि तयारी गरीएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस