मेरोजस्तो अनुहार भएको मान्छे हिरो हुँदैन भन्थे

तराईबाट काठमाडौं आएर संघर्ष गर्ने थोरै अभिनेता मध्येका एक हुन् प्रमोद अग्रहरी । तराई–मधेसको लुक्स भएकै कारण हुने विभेद उनले झेलेका छन् । एक वर्ष अगाडिको मात्रै पनि उनीसँग तीतो अनुभव छ । काठमाडौंका रेष्टुराँमा बसेर तराईको कथा लेख्ने र नेपाली अनुहार भएन भन्ने बचनवाण उनले झेलेका छन् । अहिले प्रमोद अभिनित चलचित्र ‘कथा काठमाडौं’ रिलिजको पूर्वसन्ध्यामा छ । एक वर्ष यता अवस्था फेरिँदै गएको उनीसँग अनुभव छ । काठमाडौंको आँखाले तराईको कथा हेर्ने नजरमा केही फेरबदल भएको छ । यी यस्तै विषयमा केन्द्रित भएर अभिनेता अग्रहरीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  
० ० ०

 

चर्चा बढी छ कि आलोचना ?

दुईटै भन्न सकिन्छ । नेगेटिभ कमेन्ट आयो भने त्यसलाई आलोचना नै भन्नु पर्यो । ‘रातको कुरा’ गीत आउँदा नेगेटिभ कुरा भएको थियो । त्यही गीत रिलिजको केही दिनपछि भने सकारात्मक कमेन्ट आए । दोस्रो र तेस्रो गीत तथा ट्रेलरसम्म आइपुग्दा दर्शक पोजेटिभ भैसक्नु भएको छ । यथार्थ घटनालाई उठान गरेर निर्माण गरिएको चलचित्र भन्ने कमेन्टहरु बढी आएका छन् पछिल्लो समय । 

गीत सार्वजनिक हुनेबित्तिकै यति धेरै आलोचना भयो, सायद यति धेरै आलोचना गीत रिलिज हुँदै कुनै पनि चलचित्रले खेप्नु परेको थिएन होला, किन यस्तो भयो ? 

पहिलो चोटी हेर्दा जस्तो चित्र दिमागमा बन्यो, त्यसकै आधारमा मूल्यांकन गर्यौं जस्तो लाग्छ । सायद त्यही कुरालाई दोहोर्याएर हेर्दा अर्कै चित्र दिमागमा बन्न पनि सक्छ । अर्थात् त्यसो कथा र भन्न खोजेको सन्देश नियालेर हेर्दा अर्कै पनि हुन सक्छ । जे कमेन्ट आयो त्यो भिडियो नबुझेर आयो । हामीले ४ मिनेटको त्यो भिडियोमा जे भन्न खोजेका छौं, त्यसको कथा नबुझेर त्यहाँका केही सिनलाई मात्रै लिएर कमेन्ट आए । 

‘सिंहदरबार’को छायांकनका क्रममा एक जना दिदीले मलाई भन्नुभयो, “भाइ मैले तपाईंको गीत मेरो घरको ठूलो टिभीमा युट्युबबाट २५ पटक हेरें” मैले उहाँलाई सोधेँ, किन २५ पटक हेर्नु भयो त ? उहाँले भन्नु भयो, “जब गीत आए पनि जुन खालका कमेन्टहरु आए, त्यसपछि मैले त्यसमा के स्टोरी रहेछ भने खोज्न थालें तर मैले त त्यहाँ महिलालाई शोषण गरिएको कथा पो पाएँ । कमेन्ट गरिएको जस्तो गीत पाईंन मैले ।” जसले भिडियो बुझ्यो उसले राम्रो कमेन्ट पनि गरेको छ । 

गीतमा विवाद आयो, चलचित्र कस्तो छ ? 

तीनवटा फरक फरक कथा छ, यहाँहरुले पोस्टर र ट्रेलरबाट पनि धेरै कुरा थाहा पाइसक्नु भएको छ । केही दृश्यले गर्दा परिवारसँग बसेर हेर्न सकिँदैन कि भन्नुभएको छ । यही समाजको कथा हो । हामी त्यही समाजका नागरिक हौं भन्ने पनि बुझ्नु पर्छ । यो मेरो स्टोरी हो, तपाईंको स्टोरी हो, समाजको कथा हो त्यसैले सबैले हेर्नैपर्छ । 

गीत हेर्दा त परिवारसँग बसेर चलचित्र हेर्न सकिन्छ जस्तो लाग्दैन त ?

तपाईंले भनेको पनि ठिक होला । नेपालमा परिवारलाई नै लिएर गएर चलचित्र हेर्न कल्चर पनि बसिसकेको छैन । जसलाई जसरी सहज हुन्छ, त्यसरी नै हेर्नुहुन्छ जस्तो लाग्छ ।

तपाईको चरित्रको कुरा गरौं न ।

धेरै कुरा त सायद गर्न पनि मिल्दैन होला । कति त गीत र ट्रेलरले पनि भन्छ जस्तो लाग्छ । लष्ट, लभ र लाइभको कथा छ चलचित्रमा । त्यसमा मेरो चरित्रले काठमाडौंको कथा भन्छ ।  दिनहुँ हाम्रो जिन्दगीमा विभिन्न कुराहरु घटिरहेका हुन्छन् तर त्यसलाई हामी नजर अन्दाज गरिरहेका हुन्छौं । त्यसलाई रियाक्ट नै गर्दैनौं । तर कहिलेसम्म रियाक्ट नगरी बस्ने ? कलाकारको पनि समाज परिवर्तनका लागि भूमिका हुन्छ । चलचित्र भनेको समाजको ऐना हो । त्यो ऐनामा हामीले त्यही नजरअन्दाज गरिरहेको कुरालाई देखाउन खोजेका छौं ।
‘उमा’ बाट ‘कथा काठमाडौं’ सम्म आइपुग्दाको उपलब्धी के हो जस्तो लाग्छ ? 

काम गराईको हिसावले ‘गुड वाई’ काठमाडौं मेरो पहिलो चलचित्र हो । रिलिजका हिसावले चलचित्र ‘उमा’ हो । ‘उमा’ देखि आजसम्म आइपुग्दा दर्शक र मिडियाले गर्नु भएको माया र प्रतिक्रिया हो रिजल्ट हो ‘कथा काठमाडौं’ । यही नै मेरो उपलब्धी हो ।

 

 

उपलब्धीको कारण ? 

काम गर्दा वास्तविकतासँग नजिक रहेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । आफ्नो समाजमा रहेका पात्रहरुसँग हराउन र रमाउन मन पर्छ मलाई । त्यो मोमेन्टमा बाँच्न मन मलाई छ । स्क्रिप्ट आइपुग्दा त्यसको क्यारेक्टर अर्कै आएको हुन्छ, त्यसलाई सकेसम्म म यही समाजको चरित्रमा ढाल्ने प्रयास गरिरहेको हुन्छु म । 

पछिल्लो समयमा नेपाली चलचित्रमा मुख्य पात्रहरु निकै लाउड देखिरहेका छन् किन ? 

स्टोरीको डिमान्ड पनि होला । तर स्टोरीको डिमान्ड होइन भने कसले गर्यो र उसबाटै यसको जवाफ राम्रो आउला । म त मैले गरेको क्यारेक्टरको मात्रै जवाफ दिन सक्छु ।

पछिल्ला केही वर्ष यता नेपाली चलचित्रमा मधेसी क्यारेक्टर रुचाउन थालिएको हो ?  

उहाँहरु राम्रो अभिनेता पनि हुनुहुन्छ । नामै लिएर भन्दा कामेश्वर चौरासिया, नाजिर हुसेन, रविन्द्र झा । उहाँहरु मेहनत गर्नुहुन्छ । जव समावेशिता हुन्छ केही फरक कुरा आउँछ, त्यो नयाँ लाग्छ । कुनै चिज जव नयाँ हुन्छ, त्यसलाई मान्छेले स्वीकार्छ यो मानवीय स्वाभाव पनि हो । 
मैले ‘उमा’ मा विनित यादवको क्यारेक्टर गरेँ । त्यो लिड क्यारेक्टर हो । मलाई लाग्छ मधेसी क्यारेक्टरलाई मधेसबाट ल्याएर हिरो क्यारेक्टरमा अभिनय गराइएको थिएन । त्योभन्दा पहिला जहिले पनि मधेसी क्यारेक्टरलाई पान पसले, चटपटे पसले, बुट पसले अथवा सब्जी व्यापारीका रुपमा मात्रै देखाइन्थ्यो । त्यो पनि भाषा बिगारेर हाँसोको पात्रका रुपमा मात्रै देखाइन्थ्यो । 

मधेसी क्यारेक्टर चाहियो भने पहाडे क्यारेक्टरलाई मधेसीमा ढालेर क्यारिकेचर गराइन्थ्यो । दुई चार वर्ष अगाडिसम्म मधेसी क्यारेक्टरलाई न्याय गर्न सक्ने कलाकार नभएर नै हो ?

मलाई लाग्छ जति पनि कलाकार हुनुहुन्छ, धेरै राम्रो हुनुहुन्छ । त्यो क्यारेक्टर नै लेखिएन जस्तो लाग्छ । चलचित्र नै काठमाडौंका नजरबाट लेखिन्थे जस्तो लाग्छ । काठमाडौंका आँखाबाट चलचित्र बन्थे । तराईलाई कहिले पनि लेखिएन जस्तो लाग्छ । ‘उमा’ देखि मात्रै अलि राम्रोसँग चलचित्रमा तराईको कथा आउन थाले जस्तो लाग्छ तर अझै पनि आउनुपर्ने जति आए जस्तो लाग्दैन । 

तराईका कलाकारप्रति काठमाडौंले अविश्वास गर्यो भन्न मिल्छ ?

मिल्छ । विश्वास नभएकै हो । 

त्यो अवस्था किन आएन होला ?

काठमाडौंबाट चलचित्रलाई बाहिर लाँदै लगिएन । काठमाडौं बाहिरको कथा नभन्नु नै यसको कारण हो । 

मधेसबाट आएको मधेसी क्यरोक्टरलाई अन्यभन्दा धेरै संघर्ष गर्नुपर्ने अवस्था छ ? 

मेहनत त सबैले गर्नेपर्छ । विना मेहनत कसैले पनि आफ्नो यात्रा तय गर्न सक्तैन । तराईको कलाकारको कुरा गर्दा उनीहरुले राम्रोसँग नेपाली भाषा बोल्नै सक्तैनन् भन्ने भ्रम छ । तर मलाई लाग्छ हामी प्रष्ट नेपाली भाषा बोल्न सक्छौं । मेरो कुरा गर्दा पनि म राम्रोसँग नेपाली भाषा बोल्न सक्छु । यो विश्वास उहाँ (मेकर) हरुसँग छैन । 

म काठमाडौं आउँदा मेरो अनुहार जस्तो भएको मान्छे हिरो हुँदैन भन्ने थियो । यस्तो त मैले एक वर्ष अगाडिसम्म पनि भोगेको छु । दिनभरी बसेर स्क्रिप्टको कुरा गर्यो, फाइनल गरेर आयो । बेलुका घर आइपुग्दा प्रमोदमा अनुहार त नेपाली अनुहार नै होइन भनेर प्रोजेक्ट नै ड्रप पनि भएका छन् । अजिव लाग्थ्यो मलाई । म सोच्थें कुनै समय त आउला नि जुन समय प्रमोद, नाजिर वा कामेश्वरका लागि स्टोरी लेखिएला । त्यो मोमेन्ट कुरेर बसेको मान्छे हुँ म । 

केही प्रतिक्रिया रहन्थ्यो ? 

मैले उहाँहरुलाई भनेँ काठमाडौंको रेष्टुरेन्टमा बसेर तराईको कथा नलेख्नुस् । तराईको कथा लेख्न त्यहाँको हावा पानी, माटो, गर्मी र जनजीवन लेख्न त्यहीँ जानुस् सायद चलचित्रका लागि केही राम्रो चिज आउँछ । 

नेपाली चलचित्र राम्रो बनिरहेका छन् ? 

हाम्रा धेरै कमीकमजोरीहरु छन् । केही चलचित्रलाई छोड्ने हो भने अझै पनि धेरै चलचित्र मुम्बइका चलचित्रभन्दा बाहिर गएर बन्न सकेका छैन्न् । हाम्रो आफ्नै कथामा अझै पनि चलचित्र बनेका छैनन् । जबसम्म हाम्रो नेपाली चलचित्रका बारेमा विश्वबजारमा बहस हुन सक्तैन, त्यो दिनसम्म हामी पछि छौं भनेर मूल्यांकन गरे हुन्छ । काठमाडौंमा चलेर ८–१० करोड कमाउँदैमा त्यो चलचित्र हिट हुँदैन । जबसम्म ग्लोबल बजारमा गएर बलिउड र हलिउड मुभीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्रले सक्तैनन्, त्यो दिनसम्म नेपाली चलचित्र हिट भए भनेर म भन्न सक्दिन । 
 

प्रतिकृया दिनुहोस