निर्मला हत्याको सबै कुरा खोल्दा समाजमा अशान्ति फैलिन सक्छ

साउनको १० गते साथीको घरमा गएकी कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला पर्यो ।
निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कारवाही हुनुपर्ने भन्दै कञ्चनपुरमा लामोसमय आन्दोलन भयो । प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन थप चर्कियो । किनकी स्थानीयले विष्टबाहेकका व्यक्तिको हात रहेको हुनसक्ने भन्दै छानबिनको माग गरेका थिए ।
तर प्रहरीले आन्दोलन दबाउन चलाएको गोली लागेर एकजनाको ज्यान गयो भने कैयौं घाइते भए । त्यसपछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाइ सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तर छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले समितिमा रहेर आफूले निर्मलालाई न्याय दिन सक्ने अवस्था नरहेको भन्दै सोमबार राजीनामा दिए । उनको राजीनामापछि निर्मला हत्याकान्ड थप रहस्यमयी बनेको छ । 
समितिबाट राजीनामा दिनुपर्नाका कारणले बाह्रखरीका केशवराज जोशीले सदस्य केसीसँग गरेको कुराकानीः

 

निर्मला हत्याकान्ड अनुसन्धानको उच्चस्तरीय समितिमा हुनुहुन्थ्यो ? के कुरामा असहमति राखेर राजीनामा गर्नुभयो 

मैले असहमति भन्दा पनि आफ्नो पत्रमा सबै कुरा उल्लेख गरेको छु । म त्यो समितिमा रहेर निर्मला पन्तका वास्तविक हत्यारा–अपराधीलाई सजाय दिन सकिनँ र निर्मला पन्तको परिवारलाई न्याय दिन पनि सक्दिन । अपराधीलाई सजाय र पीडितलाई न्याय दिन नसक्ने भएपछि त्यो पदमा किन बस्ने ? त्यसैले मलाई त्यो समितिमा बस्न अनुचित लागेर छाडेको हुँ । 

तपाईँको के–के कुरामा असहमति रह्यो ? तपाईलाई कहाँ महसुस भयो कि यो समितिमा रहेर मैले न्यायको पक्षमा बोल्न सकिनँ भनेर ?

विशेष गरि यो महत्वपूर्ण अनुसन्धानभित्रकै कुरा हो । म कर्मचारी भएकाले पनि अनुसन्धानभित्रका सबै कुरा खोल्न पनि मिल्दैन । मैले केही कुरा खोल्दा समाजमा अस्थिरता फैलिन पनि सक्छ । समाजमा शान्ति कायम गर्ने मेरो पनि जिम्मेबारी हो । म पनि यो देशको नागरिक हुँ । त्यसैले छानबिनका कुरा तपाईँलाई भन्न सक्दिनँ । मेरो प्रेस विज्ञप्तिमा पर्याप्त कुरा लेखिएका छन् ।

१४–१५ दिन कञ्चनपुरमा रहेर अनुसन्धान गर्दाको अनुभव कस्तो रह्यो ? प्रहरीले गोली चलाएको छ, जनताले सतहमा केही कुरा उठाएका छन्, यसमा तपाईँलाई के लाग्छ ?

जनताप्रति म सम्मान गर्छु । त्यहाँका जनताले न्यायका लागि निकालेको आवाज जो छ त्यो सान्दर्भिक छ । र, जसरी १२–१३ जना घाइते भएका छन् । एकजनाको मृत्यु भएको छ एकजना अझै गम्भीर अवस्थामा अस्पतालमा छन्, योप्रति म स्तब्ध भएको छु । 

दिलिप विष्टको बारेमा केही भन्न चाहनुहुन्छ ?

कसैको बारेमा केही भन्न चाहन्नँ ।

जिम्मेवारीबाट बाहिरिएको भन्दै सरकारले कारवाही गर्यो भने के गर्नुहुन्छ ?

म न्यायसेवाको कर्मचारी हुँ । मैले इमान्दारिताका साथ सरकारको आदेश पालना गरेको छु । १५ दिनदेखि सरकारकै आदेश पालना गरेको छु र विगत २० वर्षदेखि विभिन्न चुनौतीपूर्ण अवस्थामा मैले सरकारको आदेशको पालना गर्दै आएको छु । तर मैले यो समितिमा बसेर दोषीलाई कारवाही गर्न सक्दिन भन्छु भने मलाई कारवाही गर्दैन पनि र गर्न मिल्दैन पनि । 

तपाईँको भनाइ यो समितिले निर्मलाका हत्यारा पहिचान र कारवाही गर्न सक्दैन भन्ने हो ?

समिति र अरु सदस्यका बारेमा केही बोल्न चाहन्न । तर म आफु त्यो समितिमा रहेर निर्मला पन्तको हत्यारालाई कारवाही गर्न असमर्थ छु र परिवारलाई न्याय पनि दिन सक्दिनँ भने म यो समितिमा किन बस्ने पदमात्रै ओगटेर ?  एउटै कुरा के बुझ्दिनुपर्यो भने म वास्तविक हत्यारालाई सजायको सिफारिस पनि गर्न सक्दिन भने त्यो समितिमा किन बस्ने ?

प्रतिकृया दिनुहोस