‘छक्का पञ्जा’भन्दा राम्रो चलचित्र बनाएर देखाउनुस्

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’ यही घटस्थापनाका दिन रिलिज हुँदैछ । चलचित्रको कथा, पटकथा, स्क्रिन प्लेदेखि मुख्य अभिनयसम्म दीपकराज गिरीले गरेका छन् । दीपकराज अहिले चलचित्रको प्रचारप्रसारमा व्यस्त छन् । विगतका वर्षभन्दा यसपटक प्रचारको फरक शैली अपनाएको बताउने दीपक यो पटक ‘छक्कापञ्जा’ले कमेडीमात्रै नपस्किने बताउँछन् । प्रशंसाभन्दा पनि उनको चलचित्रले बढी आलोचना सहनुपर्छ । तर, उनकै चलचित्र बक्स अफिसको ग्राफमा सबैभन्दा माथि हुन्छन् । समीक्षकको आँखाबाट हेर्दा नराम्रा भनिएका उनका चलचित्र राम्रा हुन् कि रमाइला ? चलचित्र चलाउन के गर्नुपर्छ ? लगायतका प्रश्न गरीसँग बाह्रखरीका नरेश फुयाँलले गरेका छन् । 

 

चत्रचित्र रिलिजको संघारमा हुनुहुन्छ, कसरी गरिरहनु भएको छ प्रमोशन ?
यो पटक हामीले प्रमोशनको रणनीति बदलेका छौं । सिनेमाको ब्राण्डले पनि हामीलाई फाइदा छ । प्रचारका लागि धेरै मेहनत गर्नुपर्दैन । ‘छक्का पञ्जा–३, घटस्थापनाका दिन’ भन्ने नारामा जोड दिएका छौं । अर्को कुरा हामी टीआरपी राम्रो भएका कार्यक्रम जस्तै¬– नेपाल आइडल, भद्रगोल जस्ता कार्यक्रममा सहभागी भइरहेका छौं । युट्युबमा हामीले स्क्रिप्टेड झगडाको फण्डा गर्यौं । जे बिक्छ, त्यही गर्ने त हो । हाम्रो देशमा झगडा बिक्छ, नकारात्मक पक्षमात्रै बिक्छ । ‘छक्कापञ्जा’ लाग्नेबित्तिकै हलमा आधा जति त हाफटाइम नहुँदै गाली गर्न थालिसकेका हुन्छन् । 

फण्डाले चलचित्र चल्छ कि राम्रो कथा चाहिन्छ ?
पक्कै पनि राम्रो कथा चाहिन्छ । फण्डाले दुई दिन काम गर्छ । एक्टरले दुई दिन चल्छ । कलरफुल चिजले दुईदिन चल्छ । अर्को दिनदेखि भगवान महादेव नै आउनुभयो भने पनि चलचित्र चल्दैन । चलचित्र नै राम्रो हुनुपर्छ । बलिउडकै चलचित्र हेर्दा सलमानका कुनै चलचित्र महिनौं चल्छन्, कुनै आइतबार नै थला पर्छन् । चलचित्र राम्रो छैन भने संसारका सबै पावर ल्याएर प्रयोग गरेपनि काम छैन । 

‘छक्का पञ्जा–३’ ले कस्तो कथा बोकेर आउँदैछ ?
चलचित्र हिट भयो भन्दैमा हामी हरेकपटक एउटै कथा उठाउँदैनौं । नाम एउटै राखेपनि त्यसको कथा फरकफरक लिएर आउँछौं । यसपटक हामीले शिक्षाको क्षेत्रमा प्रश्न गरेका छौं । देशको भविश्य भनेको अहिलेका विद्यार्थी हुन् । हामी कतै हाम्रो भविष्यमाथि त खेलवाड गरिरहेका छैनौं ? भन्ने कथा लिएर आएका छौं । 

 

 

‘छक्का पञ्जा’ले गहन विषय उठान गर्छ तर त्यसलाई सस्तो तरिकाले प्रस्तुत गर्छ भन्ने आरोप लाग्ने गरेको छ । तपाईंलाई त्यस्तो लाग्दैन ?
कमेडीले हल्का कुरालाई मात्रै भन्छ भन्ने गलत कुरा स्थापित भएको छ । मैले कुनै नेताको व्यङ्ग्य गरें भने त्यसलाई सामान्य रुपमा लिइन्छ । तर, विदेशमा व्यङ्ग्य गरियो वा कार्टुन बनाइयो भने ‘ला.. व्यङ्ग्य भयो, कार्टुन बन्यो ?’ भनेर गहन रुपमा लिइन्छ । हाम्रोमा भने हल्का मानिन्छ । ‘छक्का पञ्जा–१’ वैदेशिक रोजगारीमा जाने पुरुषका पत्नीलाई कु–दृष्टि लगाउने कुरामा हामीले कहाँ कमेडी गरेका थियौं र ? थिएनौं । 

त्यसो भए दर्शकले बुझेनन् ? 
होइन । दर्शकले नबुझेको भए मेरो घरमा त्यत्रो पैसा कसरी आउँथ्यो ?

त्यसो भए चलचित्र समीक्षकले बुझेनन् ? 
हो । समीक्षकले बुझेनन् । लस्कर लागेर दर्शक हलमा किन जान्छन् । २०–२५ प्रतिशत हाम्रा आलोचक फेसबुक र युट्युबमा छन् । उनीहरुले मैले भगवान राम भनेर लेखेर फेसबुकमा पोस्ट गरेँ भने तपाईं हराम भनेर लेख्छन् । जे कन्टेन्ट हाले पनि नकारात्मक कमेन्ट आउँछ । हामीलाई त अब सामान्य लाग्न थालिसक्यो । 
तर, हामीलाई खुसी के लाग्छ भने हाम्रो चलचित्र तिनै आलोचक पहिलो दिनको पहिलो शो हेर्न पुग्छन् । 

सामाजिक सञ्जालको कुरा गर्दा तपाईं पनि प्रतिवाद गरिहाल्नुहुन्छ नि !
त्यो बानीमा मैले केही हदसम्म परिवर्तन ल्याइसकेको छु । कारण म पहिला हाँस्य व्यङ्ग्य कलाकारमात्रै थिएँ । तर मान्छेले अहिले मेरो परिचय परिवर्तन भइसकेको रुपमा हेर्न थालिसकेका रहेछन् । चलचित्रको प्रोडुसर र एक्टरको रुपमा हेर्न थालिसकेका रहेछन् । मेरो परिचय बदलिइसकेको रहेछ । तर, मैले मलाई बदलेको रहेनछु । त्यसैले यस्ता टिकाटिप्पणीहरुलाई आजकाल म बेवास्ता गर्छु । तर टिकाटिप्पणीले नै मान्छेलाई बलियो बनाउने हो । हामीलाई जति टिकाटिप्पणी हुन्छ अरुको जीवनभरीमा पनि  पनि यति हुँदैन, यसमा खुसी लाग्छ । 

 

 

नाम ‘छक्का पञ्जा’ तर कथा फरक । नाम सुन्दा सिक्वेल, लाग्छ तर हेर्दा हुँदैन । नयाँ नामको चलचित्र बनाएर चलाउन सक्छु भन्ने आत्मविश्वास नभएर नाम दोहोर्याइरहनु भएको हो ?
यसमा दुईटा कुरा छ । एउटा, ‘वडा नम्बर–६’ चलचित्र आयो । त्यसमा एक लिटर पेट्रोलको ५ सय रुपैयाँ पथ्र्यो । त्यो बेला सडकमा एउटा पनि गाडी हुँदैनथ्यो ।  दर्शक हिँडेर हलसम्म पुगे । चलचित्र सुपरहिट भयो । ‘छ एकान ६’ पहिलो चलचित्र थियो, त्यो पनि हिट भयो । ‘छक्का पञ्जा’ सुपर हिट भयो । हाम्रो ग्राफ माथि चढिरहेको छ । नामको कुरा गर्दा यति ठूलो ब्राण्ड भइसक्यो कि मैले अर्को चलचित्र बनाएँ भने पनि ‘छक्का पञ्जा’ जस्तै बनाउँछ भन्ने अपेक्षा हुन्छ । किनकि मैले फ्लेवर त्यही हो । यो पनि समस्या हो । ‘शत्रु गते’ मा म लेखनदेखि अभिनयसम्म थिएँ, त्यसलाई पनि दर्शकले मन पराइदिनुभयो । 

म समीक्षकको कुरा गरिरहेको छैन । समीक्षक चलचित्रलाई कलात्मक बनाउन चाहन्छ । म भन्छु, पहिला व्यापार गर्नुस् अनि कलात्मकता खोज्नुस् । पहिला बजार बनाउनुपर्छ । पोखरी नै भएन भने कहाँ पाल्ने माछा ? 

चलचित्र आर्ट हो भने त्यसमा कला खोज्नु गल्ती हो र ?
पक्कै पनि चलचित्र कला हो । कला विनाको केही चिजले पनि मन छुँदैन । कलाको मात्रा प्रचुर भएर मनोरञ्जनको मात्रा त्यहाँ कम भयो भने त्यो भित्तामा झुण्ड्याएको चित्र हुन्छ, चलचित्र पनि । अनेक अर्थ लगाएर हेर्ने चित्र । त्यो खालको अतिवाद पनि हुनु हुँदैन । चलचित्र क्षेत्रमा अहिले केही मान्छेहरु अतिवादी छन् ।

उनीहरु चाहन्छन् नेपाली चलचित्र रातारात कायापलट होस्, ताकि हामी ओस्कार बनाउन लायक भइहालौं । उहाँहरुलाई यो कुरा थाहा छैन कि हलिउडमा विषयवस्तुभन्दा पहिला प्रविधिका कुरा, लाइटका कुरा अध्ययन गरेर बल्ल विषयमा गइन्छ । टेक्न सक्नु भएको छैन, दौडिने कुरा गरेर हुन्छ ? पहिला हिँड्न सिक्नुपर्छ अनि मात्रै हो दौडिने । म्याराथुनमा दौडिनेले बिहान बेलुका धेरै दौडिएको हुन्छ । यस्ता अतिवादी कलात्मकताका पुजारीहरुको विपक्षमा म सधै बोलिरहेको हुन्छु । 

दीपकराज गिरीले ‘तीतो सत्य’का तीनवटा श्रृंखला जोडेर एउटा चलचित्र बनाउँछ भन्ने आरोप छ नि ! के भन्नु हुन्छ ?
जब प्रत्येक कुरामा खराबी देखिन्छ त्यो बेला तपाईंको दारी पनि तपाईंको नभएर नाना पाटेकरको जस्तो देखिन्छ । मेरो जानकारीको क्षेत्र कमेडी हो भने मैले अर्को चलचित्र कहाँ बनाउन सक्छु ? मैले गम्भीर चलचित्र बनाएँ भने चलचित्रले हसाउँदै हसाउँदैन भनेर तीनै मान्छेले भन्न थाल्छन् । घोडामा चढेर आयो भने पशुको अवमूल्यन गर्नु भयो, घोडा डोर्याएर आयो भने माल पाएर चाल पाएन भन्ने हाम्रो अहिलेको अवस्था छ । तीनवटा ‘तीतो सत्य’ जोडेर फिल्म बन्ने भए आज हरेक फिल्म सफल हुन्थे होला ।

यो वर्ष २५ वटा कमेडी चलचित्र बने, ती सबै फ्लप भए । कमेडी यस्तो विषय हो बनाउन जानेन भने हरर चलचित्र बन्छ । दीपकलाई गाली गर्ने आधार के ? तेरो चलचित्र राम्रो भएन भनौं भने दर्शकले मन पराइदिएका छन्, उनीहरुले  हलसम्म गएर हेरिरहेका छन् । तैपनि  भन्छन्, ‘‘तैंले पैसा त कमाइस् तर चलचित्र राम्रो छैन ।’’ 

राम्रो चलचित्र बनाउन र चलाउन के गर्नुपर्दो रहेछ ?
राम्रो र रमाइलो भन्ने फरक कुरा हुन् । राम्रो मान्छे अनुसार फरक हुन्छ । रमाइलो सबैलाई एउटै हुन्छ । म भन्छु¬– पहिला रमाइलो बनाउनुस् राम्रो पछि बनाउनुस् ।  

 

 

तपाईंका चलचित्र राम्रा कि रमाइला ?
म रमाइलोबाट विस्तारै राम्रो बनाउँदैछु । म ‘६ एकान ६’ बनाउने मान्छे हुँ । तर, अहिले ‘छक्का पञ्जा’ सम्म आइपुगेँ । मेरा आलोचकहरु नै मेरा मार्गदर्शक हुन् । मनोरञ्जनबिनाको कला पनि अपूर्ण हुन्छ । चलचित्रमा पनि मनोरञ्जन भएन कलामात्रै छ भने त्यो अपूर्ण चलचित्र हुन्छ । चलचित्रमा कलात्मकता मात्रै हुन्छ भने अतिवादको प्रभावमा परेर लादिएको कलात्मकता हो । 

यी दुईको कुरा गर्दा हामी कहाँ छौं ?
नेपालमा कि कलात्मक मात्रै छन् कि मनोरञ्जनात्मक चलचित्र मात्रै बने । 

‘छक्का पञ्जा–३’ मनोरञ्जनात्मक मात्रै हो त्यसो भए ?
सम्मीश्रण गर्ने प्रयास गरेका छौं हामीले । यसलाई कमेडी चलचित्र नभन्नु होला । यसमा गम्भीरताको मात्रा पहिलाका चलचित्रको तुलनामा बढी छ । मिक्स प्याकेज बनाउन खोजेका छौं । यो पटक हामीले रिस्क पनि लिएका छौं । 

कस्तो रिस्क ?
विषयवस्तुमा जब हामी प्रवेश गर्छौं, त्यो बेला हँसाउनेतर्फ ध्यान दिदैनौं । पहिला हामी सिरियस भयौं भने हामीलाई दर्शकले गाली गर्छन् भनेर बस्थ्यौं । तर, यो पटक त्यसो गरेनौं । पहिला हामी व्यावसायिक पक्षलाई मात्रै ध्यान दिन्थ्यौं । तर, यो पटक व्यावसायिक मात्रै हुनुपर्छ भन्ने कुरालाई छोड्दियौं । हामीले पनि रिस्क नलिए कसले लिन्छ ? 

नेपाली चलचित्रको बजार छैन भनिन्छ, यद्यपि तपाईंका चलचित्रले राम्रो व्यापार गरिरहेका छन्, के भन्नुहुन्छ ?
चलचित्रको बजार छैन, हाटबजार छ । हाटबजार भनेको यस्तो हो, जुन हप्तामा एक दिन लाग्छ र त्यहाँ हरेक कुरा पाइन्छ । बिहीबार लाग्ने बजारमा हरेक कुरा पाइन्छ भन्ने कुरा सबैलाई थाहा भयो तर अब बिहीबार मात्रै होइन हरेक दिन पाइन्छ भन्ने बनाउन दीपकराज गिरीको आलोचना गरेर हुँदैन । मेरो चलचित्रमा भएका कमजोरी पत्ता लगाएर आफ्नो चलचित्र बनाउनु पर्छ । मभन्दा पनि परिस्कृत भएर कलात्मकता पनि भएको मनोरञ्जनात्मक चलचित्र बनाउनुपर्छ । तर हामी फेसबुकमा गाली गरेर बस्छौं, मलाई गाली गर्ने समय कथा र स्क्रिप्टमा खर्च गरेर त्योभन्दा राम्रो चलचित्र बनाउनुस्, त्यो बेला दीपकराज गिरी पराजित हुन्छ । 

दीपकराज गिरीले फेसबुक, ट्वीटरका स्टाटस र ट्विटलाई आफ्नो चलचित्रमा डाइलगका रुपमा प्रयोग गर्छ भन्छन्, हो ?
हाम्रो चलचित्रमा प्रयोग गरिएका संवादचाहिँ फेसबुकका स्टाटस बने । तपाईं कुनै बेला साथीलाई कुनै जोक भन्नुहुन्छ पछि अर्को साथीले त्यही जोक तपाईंलाई सुनाउँछ, त्यो बेला उसलाई लाग्छ यो जोक यसले पहिलोपटक सुन्दैछ । यसमा पनि यस्तै भएको हो । हामी कहिले पनि बासी कुरा दिँदैनौं । हाम्रो यस्तो टिम छ जसले नयाँ कुरा क्रिएट गर्छ । फेसबुकमा आएका कति कुरा त हामी पछि निकाल्दिन्छौं ।

प्रतिकृया दिनुहोस