अलविदा ‘अम्मो’

ऐजेन्सीहरु

२५ जनवरी सन् १९८९ मा तमिलनाडु विधानसभामा बजेट पेश भइरहेको थियो । करुणानिधि बजेट भाषण पढिरहेका थिए । यसै समय विपक्षी दलकी नेतृ जयललिताले आफ्नो ‘फोन टेप’ गरिरहेको गुनासो राखिन् ।

तर, सभामुखले यस विषयमा बहसको अनुमति दिएनन् र जयललिताका समर्थक भड्किए । उनी सदनबाट बाहिर निस्किइन् । त्यससमय ‘डिएमके’का एक सदस्यले उनको सारी ताने । सारीको फेरो खस्यो । उनी आफैँ पनि लडिन् । तब जयललिताले विधानसभा महिलाका लागि सुरक्षित नहुञ्जेल नआउने अठोट गरिन् । पछि आफैँ मुख्यमन्त्री भएर विधानसभामा उपस्थित भइन् । 

सन् १९९७ मा तमिलनाडुको ‘डिएमके’ सरकारले जयललिताको सबै गहना जफत गरिदियो । त्यसपछि उनले १४ वर्षसम्म गहना लाइनन् । सन् २०११ मा उनलाई पार्टी वर्कर्सले भनेपछि गहना लगाउन थालिन् । उनी आफ्ना सदस्यहरुलाई निराश पार्न चाहन्नथिन् ।  

जयललितालाई सानामा उनकी आमाले ‘अम्मो’ भन्ने गर्थिन् । सन् १९९१ मा जब उनको अत्यधिक बहुमतका साथ जित भयो, तब उनका प्रशंसकहरुले उनलाई ‘अम्मा’ अर्थात् सबैको ख्याल गर्ने व्यक्ति भनेर भन्न थाले । तर यीनै लोकप्रिय राजनेताको सोमवार राती दुःखद निधन भयो ।

जयललिताको जन्म २४ फेव्रुअरी सन् १९४८ मा तमिल ब्राह्मण परिवारमा भएको हो । भारतको मान्ड्या जिल्लामा जन्मेकी उनी १३ वर्षको उमेरदेखि चलचित्रमा काम गर्न थालिन् । उनले तमिल, कन्नड, अंग्रेजी र हिन्दीलगायत १ सय ४० चलचित्रमा अभिनय गरिन् । उनी ३४ वर्षको उमेरमा अल इन्डिया द्रविड मुन्नेत्र कझगम (एआइएडिएमके)को सदस्यका रूपमा राजनीतिमा प्रवेश गरिन् । उनी ६ पटकसम्म तमिलनाडुकी मुख्यमन्त्री बनिन् । 

जयललिता र एमजीआरका बीच निकट सम्बन्ध थियो भनिन्छ ।  एकपटक मरुभूमिमा सुटिङ भइरहेको थियो । जयललिताको खुट्टामा चप्पल–जुत्ता केही थिएन । तातो बालुवामा हिँडिरहेकी उनलाई त्यतिबेला एमजीआरले काखमा उठाएका थिए । 

चलचित्रमा सबैभन्दा हिट जोडी एमजिआर–जयललिताको थियो । यी दुईको उमेरमा ३१ वर्षको फरक थियो । सन् १९६५ देखि १९७२ सम्म जयललिताले धेरैजसो चलचित्रमा एमजिआरसँग काम गरेकी थिइन् । 

यस समय जयललिता ‘बोल्ड सिन’ दिने नायिकामा पर्थिन् । उनी स्कर्ट लगाउने पहिलो तमिल स्टार थिइन् । हिन्दी चलचित्रमा भने उनले धर्मेन्द्रसँग ‘इज्जत’ नामक चलचित्रमा काम गरेकी थिइन् । 

सन् १९८७ मा एमजिआरको देहान्त भयो । तत्कालीन समयमा जयललितालाई एमजिआरका परिवारले घरमा प्रवेश गर्न दिएनन् । दौडेर उनी ढोकाबाट प्रवेश गर्न लाग्दा ढोका थुनियो । 

एमजिआरको पार्थिव शरीर राजाजी हलमा राखिएको थियो । जयललिता त्यहाँ पुगिन् । जयललिता त्यहाँ दुई दिनसम्म उभिइरहिन् । त्यहाँ एमजिआरका आफन्तले जयललितालाई जान बाध्य गराए । तर, उनले टेरिनन् । 

एमजिआरको अन्तिम श्रद्धाञ्जली यात्रामा जयललितालाई एमजिआरकी श्रीमती जानकी रामचन्द्रनका भतिजाले आक्रमण गरे । यस समय भने जयललिताले श्रद्धाञ्जली यात्रामा अघि नबढ्ने निधो गरिन् । 

यस्तो थियो चलचित्र यात्रा

जयललिताले १३ वर्षको उमेरमा बालकलाकारका रूपमा काम गर्न थालिन् । उनको पहिलो चलचित्र अंग्रेजीमा बनेको ‘द एपिसल’ थियो । 

उनी दुई वर्षकी हुँदा बुबाको मृत्यु भइसकेको थियो । यसपछि परिवारमा ठूलो संघर्ष सुरु भएको थियो । उनकी आमा वेदवल्लीले नाम परिवर्तन गरेर सन्ध्या राखिन् । र, तमिल चलचित्रमा काम गर्न थालिन् । 

जयललिता आफ्नी सानीआमा र हजुरबा–हजुरआमासँग बेङलरुमा बसेर पढ्न थालिन् । सानीमाको विवाहपछि उनी आमासँगै चेन्नई फर्किइन् । जयललिताको पढाइ राम्रो थियो । म्याट्रिकमा उनी तमिलनाडुमै दोस्रो स्थानमा आइन् । यद्यपि उनकी आमा उनलाई चलचित्रमा काम गराउन चाहन्थिन् । 

जयललिताले १६ वर्षको उमेरमा बेन्निरा अदाई (सादा पोसाक) नामको तमिल चलचित्रमा काम गरिन् । यस चलचित्रमा उनले विधुवाको भूमिका निर्वाह गरेकी थिइन् । चलचित्रले ‘ए’ सर्टि्फिकेट पाएको थियो । १८ वर्षभन्दा कम उमेरको भएकाले जयललिता स्वयम्ले चलचित्र हेर्न पाइनन् ।

जयललिताले तत्कालिन सबै साउथ इण्डियन सुपरस्टारसँग चलचित्रमा काम गरिन् । शिवाजी गणेशन, राज कुमार, एनटी रामारावलगायत स्टारसँग काम गरिन् । 

एमजिआरले नै ल्याए राजनीतिमा 

एमजिआरले सन् १९७२ मा ‘डिएमके’बाट छुट्टिएर ‘एआइएडीएमके’ पार्टी स्थापना गरे । र, ६ वर्षपछि मुख्य मन्त्री बने । जयललिता सन् १९८२ मा एआइएडीएमके पार्टीमा सदस्य भइन् । त्यतिबेला उनको उमेर ३४ वर्ष थियो । 

सन् १९८३ मा उनलाई पार्टीले प्रोपोगान्डा सेक्रेटरी बनायो र ‘एआइएडीएमके’ अभियानको जिम्मा दिइयो । सन् १९८४ मा एमजिआरले उनलाई राज्यसभामा पठाए । १९८९ सम्म उनी सांसद बनिन् । १९८७ मा एमजिआरको मृत्यु भयो । यसपछि पार्टी फुट्यो । जयललितालाई मन नपराउनेहरुले एमजिआरकी श्रीमती जानकीलाई मुख्य मन्त्री बनाइदिए । तर, १९८९ को निर्वाचनमा पार्टीको पराजय भयो । जयललितालाई विपक्षी नेता बनाउनुपर्यो ।  

१९९१ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेकी जयललिताको पार्टीलाई बहुमत प्राप्त भयो । त्यस समय उनी पहिलोपटक तमिलनाडुकी मुख्यमन्त्री बनिन् ।

साथीलाई विष दिएको आरोप

जयललिताकी साथी शशिकला चलचित्रमा काम गर्न चाहन्थिन् । यसका लागि उनले ८० को दशकमा जयललितासँग सम्बन्ध बढाइन् । पछि दुईबीच गहिरो सम्बन्ध भयो । यो साथीको सम्बन्ध जयललिताको राजनीतिक जीवन सुरु हुञ्जेल रह्यो ।

एमजिआरको मृत्युपछि १९९१ मा जयललिताको विजय भयो । यसमा आर्थिक कोषदेखि विभिन्न अभियानको जिम्मेवारी शशिकलाले निर्वाह गरिन् । १९९६ सम्म जयललिताको सबै राजनीतिक निर्णय शशिकलाले गरिन् । शशिकलाका भतिजा बिएन सुधारकरनलाई जयललिताले आफ्नै छोरा समान मान्थिन् । भनिन्छ, सुधाकरनको विवाहमा जयललिताले १ सय करोड खर्च गरेकी थिइन् । यो विवाह पछि ‘एआइएडिएमके’ विपक्षीको निशानामा पर्यो । चुनावमा उनलाई एक सिट पनि हात लागेन ।

यसबाट डराएकी जयललिताले शशिकलासँग दूरी बढाइन् । शशिकलालाई जयललिताले ‘स्लो प्वाइजन’ दिएको आरोप लाग्ने गरेको छ । यद्यपि जयललिताले उनका गल्तीहरुमा धेरै पटक माफी पनि दिएकी थिइन् । तर, सुधाकरनलाई फेरि सँगै लिइनन् । 

६ पटकसम्म मुख्यमन्त्री

जयललिता सन् १९९१ मा पहिलो पटक मुख्यमन्त्री भइन् । २००१ मा पनि मुख्य मन्त्री बनिन् । तर, सर्वोच्च अदालतले उनको नियुक्ति अवैध घोषित गरिदियो । उनलाई बाध्यतावश आफ्ना विश्वासिला मन्त्री ओ पन्निसेल्वमलाई मुख्य मन्त्री बनाउनुपर्यो । मद्रास उच्च अदालतबाट फैसला भएपछि सन् २००२ मा उनी तेस्रो पटक र २०११ मा चौथो पटक मुख्यमन्त्री भइन् ।

सन् २०१४ मा आयभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा जेल जानुपर्यो । उनलाई आफ्नो पद छोड्नुपर्यो । तर, सन् २०१५ मा आरोपबाट मुक्त भएपछि पाँचौंपटक मुख्यमन्त्री बनिन् । मे २०१६ मा छैटौँपटक मुख्य मन्त्री बनिन् । 

प्रतिकृया दिनुहोस