माघीलाई बिशेष पर्वको रुपमा थारु,मगर,नेवार लगायतले पनि मनाउदै

माघ १ लाई माघे सङ्क्रान्ति,मकर सङ्क्रान्तिका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाइँदैछ । आज बिहान नदी तलाउ,खोला आदि ठाँउहरुमा नुहाउने गर्ने गरिन्छ । माघी नुहाइसकेपछि तिलको सुकेको बुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएको लड्डुु विशेष परिकारको रूपमा लिइन्छ । घाममा बसेर तिलको लड्डु, ध्यू, चाकु, सख्खर, तरुल, हरियो लसुन, चिउरा खानाले रोगविरुद्ध लड्ने क्षमता हुने जनविश्वास रहिआएको छ । यसैबिच माघे संक्रान्तिको अवसरमा बाह्कुने दह र बगरबाबा क्षेत्र रिहारमा बिशेष मेला लागेको छ । मेलामा हजौराको सहभागिता भएको खबर प्राप्त भएका छन् । बगरबाबामा भारतबाट समेत तीर्थालुहरु आउने गरेका छन् । बाह्कुनेमा भने दाङ लगायत छिमेकी जिल्लाबाट मेलामा सहभागि हुन आउनेको संख्या अधिक हुने गरेको छ ।त्यसबाहेक जिल्लाका बिभिन्न स्थानमा मेला लाग्ने गर्दछन् ।थारु समुदायले आज माघ १ गतेलाई महानचाँड तथा नयाँ वर्षका रूपमा मनाउँदैछन् । थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ ।माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन छ ।माघीमा आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने गरिन्छ ।राजनीतिकर्मी छोटीलाल थारुका अनुसार माघीको अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने चलन छ ।माघीमा नयाँ नीति नियम निर्माण गर्ने, गाउँको अगुवादेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन घरसल्लाह लगायतका बारेमा  छलफल हुने भएकोले यसलाई थारु समुदायमा नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ ।माघीको अघिल्लो दिन रातभर ढुम्रा गायका थारु समुदायका मानिसहरु बिहान नजिकैको नदी तालमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने गर्छन् । उरहरीका पूर्णबहादु चौधरीले भन्नुभयो,त्यसपछि छोरी चेलीका लागि निस्राउ निकाल्छन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निस्राउ भनिन्छ । निस्राउ तयारपछि ठूला बडासँग ढोगभेट गरि, माछा, सुंगुरको मासु ढिक्री, रोटी  खाएर माघी मनाउने गरिन्छ । फरक खालको थारु संस्कृती हराउने त होईन भन्ने चिन्ता चौधरीलाई लागेको छ ।तुलसीपुर उपमहानगपालिका वडा नम्वर ६ की प्रमीला चौधरीलाई भने समय अनुसार रीति तिथीलाई परिर्वतन गर्दै जानुपर्ने लागेको छ । समय अनुसार माघी मान्ने चलन परिवर्तन भएपनि संस्कृतिलाई बचाउनु पर्ने र पहिलेको माघी र अहिले मान्ने माघीमा धेरै फरक भएको उहाको भनाई छ ।थारु समुदायको परम्परा महतवा,वडघरको घरमा जम्मा भई मनाउने माघि पर्व अहिले माघी महोत्सवका रुपमा मनाउन शुरु भएको तुलसीपुर १० का लालबहादुर चौधरीको बिचार छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ उहा भन्नुहुन्छ ।माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गर्छन् । माघीको आगमनसँगै थारु समुदायको बाहुल्यता रहेको दाङ लगायतका पश्चिम तराईका जिल्लामा रौनक बढेको छ । थारु समुदायले माघी पर्व एक हप्तासम्म धुमधामका साथ  मनाउने गर्दछन् ।२०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन चल्दै आएको थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्वका रूपमा पनि मनाउने   गरिन्छ । यसैबिच थारु समुदायले खानपिन र नाँचगानको पर्वका रुपमा थारु समुदायले माघी पर्वलाई मनाउने गरिन्छ । थारु समुदायले माघिमा गाँउने गितको महत्व के छ भनि थारु संस्कृतकर्मी एबम कलाकार चन्द्रप्रसाद चौधरीलाई सहकर्मी सरीता चौधरीले सोध्नुभएको छ ।
मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले भाषाको हिसाबले बाह्र मगरात, अठारह मगरात र काइकेई मगर भाषा बोल्ने गर्छन् । 
माघे सङ्क्रान्ति  पर्व पनि यो समुदायमा एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । 
प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैलीलाई सङ्क्रान्तिले आत्मसात गरेको मगर राष्ट्रिय सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । 
माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न जमिनमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी उहाँले दिनुभयो । 
नेवार समुदायमा ‘घ्युचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशी नेवार समुदायले यो दिन विशेष पर्वको रूपमा लिने बताउनुहुन्छ । 
विहान चोखो भएर पहिले आफ्नो आमाको हातबाट तेल लगाउने गरिन्छ । यसरी आमाको हातबाट तेल लगाउँदा टाउको दुख्ने जस्ता विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता हुने जनविश्वास रहेको जोशीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस