नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

नेपाल सांगीतिक संघ को उन्नाइसौं बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ । गायिका एवं राष्ट्रिय सभा सदस्य माननीय कोमल वलीको प्रमुख आतिथ्य र बरिष्ठ गायक प्रेमध्वज प्रधान, जगतमर्दन थापा र प्रसिद्ध संगीतकार दिपक जंगमको बिशिष्ट आतिथ्यमा संघको साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थिति अतिथिहरुले सांगीतिक संघ नेपालका गतिबिधीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शुभकामना मन्तव्य दिएका थिए ।

विशिष्ट अतिथि जंगमले सांगीतिक संघले १९ औं वर्ष यात्रा गरिरहँदा आगामी दिनमा थप शसक्त र क्रियाशील हुनुपर्ने सुझाव सहितको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा अर्का विशिष्ट अतिथी प्रेमध्वज प्रधानले सांगीतिक संघ कुरा हैन काम पनि गर्दै आएको भएकाले वर्तमान नेतृत्वलाई बधाई तथा धन्यवाद सहितको शुभकामना दिएका थिए । त्यस्तै गायक जगतमर्दन थापाले संघको बर्तमान नेतृत्वबाट धेरै आशा राखेको बताउँदै शुभकामना दिएका थिए ।

कार्यक्रममा संघका कानुनी सल्लाहकार एवं गीतकार बिमल कोइराला, नेपाल प्रतिलिपी रजिष्टार्ड कार्यालयका रजिष्टार्ड प्रकाश आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साधारण सभाको पहिलो सत्रको शुरुवातमा नेपाल सांगीतिक संघ का अध्यक्ष मिलन मोक्तानले संघको उपलब्धिहरु र अनुकरणीय अभ्यासका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख अतिथी कोमल वलीले पानसमा दिप बालेर सभाको उद्घाटन गरेकी थिइन् । वलीले नेपाली सांगीतिक क्षेत्रको सहयोगको लागि सरकारलाई बारम्बार घच्घच्याई रहेको जिकीर गर्दै सांगीतिक संघमा पनि विशेष बजेटको लागि पहल गर्ने र गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई सदैव सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले सांगीतिक संघको वर्तमान नेतृत्वले गरेको योगदानको सह्राना गर्दै संघको चलायमान र शशक्तिकरण निरन्तरताका लागि अनुरोध गरेकी थिइन् ।

साधारण सभालाई दोश्रो सत्रमा सम्पन्न गरिएको थियो । दोश्रो सत्र अर्थात् बन्द सत्रमा संघको तत्कालीन कार्यसमितीमा विविध कारणले रिक्त रहेको पदका लागि ५ जना सदस्य नियुक्त गरिएको थियो । नयाँ सदस्यहरुमा सुनिता दुलाल, त्रिलोचन प्रधान, विकाश चौधरी, टिका प्रसाईं र प्रवलदिप विश्वास रहेका छन् । त्यस्तै संघकै सदस्य बिमल श्रेष्ठलाई कोषाध्यक्षमा नियुक्त गएिको छ ।

साधारण सभा कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष शशि शर्मा मजगैंयाले गरेका थिए ।

कार्यसमिति :
मिलन मोक्तानको नेतृत्व रहेको कार्यसमितिमा उपाध्यक्षमा खर्क बहादुर बुढा र शशि शर्मा मजगैंया, महासचिवमा सन्तोष श्रेष्ठ, सचिवमा प्रेम प्रकाश ओली, कोषाध्यक्षमा बिमल श्रेष्ठ, सदस्यमा सिताराम पोखरेल, प्राश्ना शाक्य, सुनिता दुलाल, रितु कँडेल, डा. गौरी शंकर मानन्धर, विकाश घले, टिका प्रसाईं, प्रवलदिप विश्वास र अजित घिसिङ तामाङ्ग रहेका छन् ।

साभार:-musickhabar.com 

प्रतिकृया दिनुहोस