रामायणकालीन अयोध्या र रामका बारेमा प्र.म.दिएको अभिव्यक्ति प्रति शान्ति समाजको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामायणकालीन अयोध्या र रामका बारेमा दिएको अभिव्यक्ति प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले दिनुभएको अति विवादास्पद एवं आपत्तिजनक रहेको शान्ति समाजले बताएको छ ।
मंगलबार विज्ञप्ति जारी गरी समाजले नेपालमा सरकार, राजनीतिक समाज, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसिन व्यक्तिले लहडका भरमा धारणा राखेको बताएको छ ।
प्रधानमन्त्रीको धारणाले भारततर्फका करोडौं मानिसहरुको आस्था र विश्वासमा चोट पुग्न सक्ने र यसैका कारण नेपालीले लज्जित हुनुपर्ने अवस्था पैदा भएको पनि शान्ति समाजको भनाइ छ ।
‘प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, शान्ति र सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने नियतले प्रेरित देखिन्छ जुन दुर्भाग्यपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ ।
शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले संयम गुमाएको प्रतित हुँदा केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित ? भनी प्रश्न उठाएको छ ।
‘यसबारे सम्बन्धित निकाय विशेषतः सत्तारुढ नेकपा र यसको संसदीय दलरसंसदले बेला छँदै लोकतान्त्रिक तवरले छलफल गरी निष्कर्षमा पुग्नु आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ’ सभापति उत्तम पुडासैनीले भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस