दाङ अब रेडजोनमा : बजार पूर्ण बन्द हुने, सवारी आवागमनमा समेत कडाई  

जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यहीक्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको वैठकले केही समयका लागि साँझ पाँच बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । वैठकले यही रफ्तारमा संक्रमितहरु बढि रहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ । 
यसैगरी वैठकले सवारी साधनलाई व्यवस्थित गर्नका लागि निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । यस अन्तगर्त मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्तगर्त एकजना मात्र बसेर सवारी गर्न पाउनेछन् । जिपकारहरुमा चालक सहित अन्य दुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । दाङमा गतेका आधारमा जोडबिजोड लागू गर्ने निर्णय गरिएको छ । जस्तोकि भोलि ४ गते जोड बाईक वा गाडी चलाउन पाइनेछ । पर्सी ५ गते बिजोड गाडीहरुको पालो हुनेछ । 
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षत्तामा बसेको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।

यसैगरी वर्षातको समय भएकाले बाढि, पहिरोको जोखिमबाट बच्नका लागि वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।  हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सय जतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । अबको केही दिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ । यस हिसाबले पनि अबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर आउने छ । यस्तो भएमा क्वारेन्टाइनमा बसेकाहरु मध्य नेगेटिभ आएकाहरु घर जानेछन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु हुनेछ ।
 

प्रतिकृया दिनुहोस