नेपालमा २ दिन पछि मनसुन भित्रीयो

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हिजो (शुक्रवार) बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलि(आइतवार) बाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ ।     
साधारणतया  अंग्रेजी महीनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्दछ । मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा १ हजार ४९९ दशमलव छ मिलीमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भए पनि औषत वर्षा नै मानिने बताइएको छ । यस्तै काठमाडौं उपत्यकाको वार्षिक वर्षा १ हजार ४५४ दशमलव ८ मिलीमिटर रहेको छ । गत वर्ष १० दिन ढिलो गरी जुन २० अर्थात असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज) मा मात्रै सकिएको थियो ।     
     
मनसुनमा औषत वर्षा हुने     
     
मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । अंग्रेजी महीनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महीनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहारीमा पानी पर्ने गर्दछ ।

मौसमविद्का अनुसार कम वर्ष हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसधारे वर्षाले पनि ठूलो प्राकतिक प्रकोप हुनसक्छ । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

प्रतिकृया दिनुहोस